
बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २ सय ८७ जनाको ज्यान गएको अनुमान गरिएको छ ।

सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५ सय ६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २ सय ८७ जना मारिएका हुनसक्ने जनाएको हो । आयोगले मृतकहरूको शव ढाकाको बुरिगङ्गा नदीलगायत विभिन्न नदीमा फालिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान समेत गरेको समाचार संस्था एएफपीले जनाएको छ । विभिन्न ठाउँमा चिह्न नलगाइएका चिहानहरू फेला परेको आयोगको भनाइ छ । आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायले शेख हसिना र उहाँका शीर्ष अधिकारीको निर्देशनमा काम गरेको र मानवअधिकार उल्लङ्घन भएको उल्लेख छ । अपहरणमा परेकामध्ये धेरैजसो हसिनाविरुद्ध रहेका जमात–ए–इस्लामी र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको प्रतिवेदनले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा झन्डै १ हजार ४ सय जनाको ज्यान गएको थियो । शेख हसिनालाई मानवताविरुद्धको अपराधमा उहाँको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ ।
